विराटनगर। कोशी अस्पतालमा रेविज विरुद्धको खोप (Anti-Rabies Vaccine) लामो समयदेखि अभाव हुँदा बिरामीहरू मारमा परेका छन्। अस्पतालमा हप्तौँदेखि खोप सकिएको भए पनि सम्बन्धित निकायले समयमै आपूर्ति नगर्दा उपचारका लागि आएका बिरामीहरू बाहिरबाट महँगो मूल्यमा खोप किन्न बाध्य भएका हुन्।

अस्पतालमा दैनिक रूपमा कुकुर तथा अन्य जनावरको टोकाइका बिरामी आउने गरेका छन्। तर, आवश्यक रेविज खोप नहुँदा उनीहरूलाई निजी मेडिकल वा अन्य अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको हो। यसले बिरामीहरूलाई आर्थिक बोझसँगै मानसिक तनाव समेत थपेको छ।

स्थानीय बिरामी तथा अभिभावकहरूले अस्पताल प्रशासनको लापरबाहीका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन्। “सरकारी अस्पतालमै निःशुल्क वा सहुलियतमा पाइने खोप नपाउँदा निजी क्षेत्रमा जान बाध्य भएका छौँ,” एक बिरामीले गुनासो गरे।

यता अस्पताल प्रशासनले भने आपूर्ति प्रक्रियामा ढिलाइ भएको स्वीकार गरेको छ। आवश्यक खोप छिट्टै उपलब्ध गराउने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।