काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब अधिकतम एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित मूल्याङ्कन प्रणालीमा परिवर्तन गर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन भएकै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ। विकेन्द्रीकृत प्रणाली लागू गर्दा नतिजा छिटो आउने, खर्च घट्ने र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

यसअघि उत्तरपुस्तिका प्रदेशबाहिर पठाएर परीक्षण गरिँदा समय ढिलाइ हुने गरेको थियो। अब आवश्यकताअनुसार वैकल्पिक परीक्षण केन्द्र पनि तोकिनेछ।

यस वर्ष चैत १९ गतेदेखि सुरु हुने एसईईमा देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।