इटहरी। चैत्र १८सुनसरीको इटहरी उपमहानगरपालिका–२ भृकुटी चोकमा मंगलबार मध्यराति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय माया राईको घरमा बिहान करिब २ बजे आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट भएको हो। घटनापछि तत्काल दमकल उपलब्ध नहुँदा आगो नियन्त्रणमा लिन ढिलाइ भएको स्थानीयले बताएका छन्।

इटहरी उपमहानगरपालिकाका दमकलहरू गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएकाले समयमै आगो निभाउन कठिनाइ भएको जनाइएको छ। नगरपालिकाबाट दमकल आउन ढिलाइ हुँदा आगलागी नियन्त्रणमा समस्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको छ। धरान र दुहबीबाट गएको दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।