काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम अस्थायी संरचनामै सम्पन्न भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवआगन्तुक सांसदहरूलाई शपथ गराएका हुन्।
कार्यक्रमका क्रममा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय ले सांसदहरूलाई स्वागत गर्दै निर्वाचनको अन्तिम परिणाम चैत ५ गते नै राष्ट्रपतिसमक्ष पेश भइसकेको जानकारी दिए।
उनका अनुसार नयाँ संसद् भवन निर्माण कार्य अझै सम्पन्न नभएको र बानेश्वरस्थित पुरानो संरचना ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त बनेपछि सचिवालयले व्यवस्थापनमा उल्लेखनीय चुनौती सामना गर्नुपरेको छ। सोही कारण वैकल्पिक रूपमा बहुउद्देश्यीय हल प्रयोगमा ल्याई हतारमा आवश्यक संरचना तयार पारिएको उनले बताए।
संसद् सञ्चालनका लागि आवश्यक पूर्वाधार पूर्ण रूपमा तयार नभएको अवस्थामा शपथ कार्यक्रम सञ्चालन गर्नुपरेकाले व्यवस्थापन पक्षमा दबाब देखिएको छ। सचिवालयले दीर्घकालीन समाधानका लागि नयाँ संसद् भवन निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ।




















