विराटनगर । पोखरिया माध्यमिक विद्यालय ले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुभकामना तथा बिदाइ कार्यक्रमसँगै “अतिरिक्त ज्ञानीसँग हाम्रा नानी” शीर्षकमा वृत्ति मार्गदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले सहभागी विद्यार्थीहरूलाई आफ्नो अनुभवसहित करियर निर्माणका सम्भावना र अवसरबारे जानकारी दिएका थिए। कार्यक्रममा नोवेल मेडिकल कलेज का प्रिन्सिपल वरिष्ठ डा. राजेश नेपाल, राष्ट्रिय वाणिज्य बैंक कोशी प्रादेशिक कार्यालयका उपप्रमुख वरुण कर्ण, पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानका सहायक प्राध्यापक प्रसन्न रेग्मी तथा शैक्षिक प्रशासन महाशाखा विराटनगरका प्रमुख रामप्रसाद ढुंगेलले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित वृत्ति मार्गबारे स्पष्ट पारेका थिए।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक रिता पाठकले गरेकी थिइन्।
विद्यालयले विद्यार्थीहरूलाई उच्च शिक्षा र पेशागत भविष्यका लागि सही दिशा दिन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरेको छ।






















