विराटनगर । २०८२/१२/८ नेपाली भाषामा निर्माण गरिएका दुईवटा छैठ गीतको छायांकन विराटनगरस्थित सिंघीया खोलामा सम्पन्न गरिएको छ। आइतबार गरिएको छायांकनमा पारम्परिक धुनमा आधारित ‘अँजुली भरि जल लिई आयौं हे माता’ र ‘माता कल्याणी तिमि हौ मिथिलेश्वरी, जगतको कल्याण गर छैठ परमेश्वरी’ बोलका गीत समावेश छन्।

निर्माण पक्षका अनुसार ‘अँजुली भरि जल लिई आयौं हे माता’ गीतको अडियो यसअघि गत कात्तिक महिनामै सार्वजनिक भइसकेको थियो। दुवै गीतका शब्द विराटनगरका पत्रकार नवीन कर्णले लेखेका हुन् भने संगीत शैलेन्द्र विश्वकर्माले दिएका छन्।

पहिलो गीतमा कलाकार किरण ब्यास र ईशा यादवले मुख्य भूमिका निर्वाह गरेका छन्। दोस्रो गीतमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली तथा उनकी धर्मपत्नी रंजिता पराजुली मुख्य भूमिकामा देखिएका छन्।

गीतहरूको निर्देशन तथा सम्पादन कात्र्तिक राजबंशीले गरेका छन् भने छायांकन किशोर राजबंशी र कलर करेक्शन पवन सहनीले गरेका छन्। ‘अँजुली भरि जल लिई आयौं हे माता’ गीतमा ज्योति विश्वकर्मा र सानुमैयाँ यादवको स्वर रहेको छ भने ‘माता कल्याणी तिमि हौ मिथिलेश्वरी, जगतको कल्याण गर छैठ परमेश्वरी’ गीतमा सुमित खड्का र सानुमैयाँ यादवले स्वर दिएका छन्।

मैथिली अनलाइनको ब्यानरमा निर्माण गरिएका यी दुवै गीतहरू चैती छैठ पर्वको अवसर पारेर सार्वजनिक गर्ने तयारी गरिएको गीतकार तथा निर्माता नवीन कर्णले जानकारी दिएका छन्। निर्माण पक्षका अनुसार गीतहरू मैथिली अनलाइनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।


20260322_143635Screenshot_20260322_210035_Facebook