विराटनगर।मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भएको आगलागीले १० घर पूर्ण रूपमा क्षतिग्रस्त  भएका छन् । करिब ४५ मिनेटसम्म फैलिएको आगोले अत्यन्त विपन्न समुदायका दर्जनौं परिवारलाई बिचल्ली बनाएको छ ।

प्रहरीका अनुसार गोकुवा चोक नजिकैको बस्तीमा दिउँसो करिब २ बजे अचानक आगलागी सुरु भई फुसका छाना र टाटीबेराले बनेका घरहरूमा तीव्र रूपमा आगो  फैलिएको थियो । घरको कमजोर संरचनाका कारण आगो नियन्त्रण गर्न कठिन भएको थियो ।

इलाका प्रहरी कार्यालय नेमुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली तथा विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि अधिकांश घर जलेर नष्ट भएका थिए । आगलागीका क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा क्षति थप बढेको प्रहरीको जनाएको  छ ।

आगलागीबाट लत्ताकपडा, अन्नपात, नगद तथा बहुमूल्य सामग्रीसमेत जलेर नष्ट भएका छन् । प्रभावित परिवारहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्।