विराटनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै मोरङका विभिन्न सामाजिक संघसंस्थाले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
दलित महिला संघ (फेडो) मोरङको नेतृत्वमा गैसस महासंघ मोरङ, मानव अधिकार सञ्जाल लगायतका नागरिक समाजका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा उक्त घटनालाई अमानवीय र निन्दनीय अपराधको रूपमा उल्लेख गर्दै तत्काल निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ। साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा र न्याय सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
संघसंस्थाहरूले महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता जघन्य अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था र कानुनी कार्यान्वयनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्मासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा उक्त ज्ञापनपत्र बुझाइएको थियो।




















