विराटनगर ।११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा सानो उद्योग महासंघ महिला उद्यम समिति मोरङको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलालाई सम्मान गरिएको छ। कार्यक्रममा महिला उद्यमिता, पेशागत योगदान तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गरिएको हो।



कार्यक्रममा उत्कृष्ट महिला उद्यमीतर्फ हंसा कुमारी माझी (नाइटिङ्गेल बुटिक) सम्मानित भइन्। यस्तै पेशागत क्षेत्रबाट अधिवक्ता माया अधिकारी, आत्मसम्मान तर्फ मञ्जू ढकाल र संस्थागत तर्फ सरु के.सी.लाई सम्मान प्रदान गरिएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल घरेल तथा सानो उद्योग महासंघ महिला उद्यम समिति अध्यक्ष अमृता भण्डारी तथा महासंघका अध्यक्ष चेतनाथ निरौलाले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख भवानी घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा अमृता भण्डारी, चेतनाथ निरौला, युवा संरक्षक मञ्चका अध्यक्ष निशा श्रेष्ठ, सम्मानित व्यक्तित्वका तर्फबाट अधिवक्ता माया अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश उपाध्यक्ष लीला देवी रिजाल तथा महासंघका केन्द्रीय सदस्य जानुका थापाले महिला उद्यमिता, साना उद्योगको विकास र महिलाको आर्थिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति निवर्तमान अध्यक्ष सुनिता छारहङले गरेकी थिइन्।






















