भारत । नेपाली साहित्यकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ लघुकथा संग्रह भारतको बनारसमा विमोचन गरिएको छ । भारत–नेपाल अन्तर्राष्ट्रिय साहित्य सांस्कृतिक मैत्री सम्मेलनअन्तर्गत उद्घाटनपछिको पहिलो सत्रमा उक्त कृतिको विमोचन, समीक्षा तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता विनोद नेपालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा खगेन्द्र भट्टराई सहभागी थिए । ‘साङ्लो’ लघुकथा संग्रहको समीक्षा तथा लघुकथाकार कोइरालाको परिचय रामकुमार पण्डितले प्रस्तुत गरेका थिए । कार्यक्रममा रायबरेलीका डा. शिवकुमार सिंह ‘शिव’ र बनारसका साहित्यकार तथा पत्रकार कुमोद किशोर भारती विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
वाराणसीको दुर्गाकुण्डस्थित हनुमान प्रसाद पोदार स्मृति सेवा ट्रस्टमा आयोजित कार्यक्रममा नेपालका काठमाडौं, पोखरा, विराटनगर, सुनसरी, नवलपरासी, झापा, मोरङ, इलाम, पाल्पालगायत विभिन्न स्थान तथा भारतका बनारस, बंगाल, झारखण्ड, कर्नाटक, उडिसा, गुजरात, प्रयागराज, भोपाल, मिर्जापुर, छत्तीसगढ र हैदराबादलगायत स्थानबाट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
लघुकथा सत्रको सञ्चालन नेपालकी चर्चित साहित्यकार ममता मृदुलले गरेकी थिइन् । कार्यक्रममा रोशन पराजुली, रमेन्द्र कोइराला, विनोद नेपाल, रामकुमार पण्डित, रन्जु खनाल, शिव त्रिपाठी, ममता मृदुललगायत नेपाली तथा भारतीय लघुकथाकारहरूले नेपाली र हिन्दी भाषामा लघुकथा वाचन गरेका थिए ।
उक्त अवसरमा नेपाली तथा भारतीय साहित्यकारहरूलाई अन्तर्राष्ट्रिय काशी विश्वनाथ साहित्य शिरोमणि सम्मानबाट समेत सम्मानित गरिएको थियो । सम्मेलनमा उद्घाटन अध्यक्षका रूपमा डा. घनश्याम परिश्रमी, उद्घाटन प्रमुख अतिथिका रूपमा डा. देवी पन्थी र उद्घाटन सत्रका सञ्चालक डा. हरेन्द्र हर्ष रहेका थिए ।
कार्यक्रममा शिव त्रिपाठी, कृष्ण मरासिनी, शारदा शर्मा, सुमित्रा अर्याल, रन्जु खनाल, वीणापाणि, प्रियम्बदा, अशोक साहिब, बिन्दु दाहाल ‘मुकदर्शक’, सुजाता राई, यज्ञलाल सुबेदी, मेघनाथ बन्धु, उमादेवी खनाललगायत सयभन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्य, भाषा र सांस्कृतिक आदान–प्रदानका विभिन्न कार्यक्रमहरू आयोजना गरिने तालिका रहेको छ ।




















