विराटनगर। महानगरपालिका–४ स्थित खारजीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका एक सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ।

मृत्यु हुनेमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोरा रहेको मोरङ प्रहरी  प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।जिल्ला मोरङ प्रहरीका अनुसार आज बिहान करिब ७ः३५ बजे विराटनगर–४ राजवंशी चोक उत्तर खारजीमा स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहोरालाई उपचारका लागि तत्काल नोबेल शिक्षण अस्पताल विराटनगर लगिएको थियो। तर उपचारकै क्रममा बिहान करिब ९ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।