काठमाडौं / प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ।

निर्वाचन आयोगले मंगलबार बिहान ७ः२७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल १ करोड २ लाख ९० हजार ५४६ मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १३ लाख ८९ हजार ८२० मतसहित तेस्रो स्थानमा छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६ मत पाएको छ।

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २२ हजार ४७२ मत पाएको आयोगले जनाएको छ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले १ लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार ३२ र जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा ले समानुपातिकतर्फको थ्रेसहोल्ड पार गरिसकेका छन्।

यसैबीच, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्ष प्रणालीअन्तर्गत रास्वपाले १२५ सिट जित्दै निर्णायक बढत बनाएको छ। नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपाले १ सिट जितेका छन्।

समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको  छ।