विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

ढकालले एक विज्ञप्ति जारी गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्ने मतदाता महानुभावप्रति हृदयदेखि नै हार्दिक आभार प्रकट गरेका हुन्।

निर्वाचनको क्रममा साथ, सहयोग र हौसला प्रदान गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थक सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। मतदाताको विश्वास र मायाले आफूलाई अझ जिम्मेवार भएर जनताको सेवा र क्षेत्रको विकासका लागि निरन्तर लागिरहन प्रेरणा दिएको उनको भनाइ छ।

साथै उनले मोरङ–६ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुविना आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन्।

ढकालले लोकतन्त्रमा जनमत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको साथमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।