विराटनगर । मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदीले मतगणना नसकिँदै आफ्नो हार स्वीकार गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका मोदीले सामाजिक सञ्जालमार्फत मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीलाई बधाई दिँदै रास्वपालाई देशव्यापी सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

मोदीले ‘तारा’ चिन्हमा मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै हारबाट पाठ सिकेर आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार साँझसम्मको मतपरिणाम अनुसार मोरङ–४ मा रास्वपाका राजवंशी १९ हजार ९१६ मतसहित अग्रस्थानमा छन् भने मोदीले ९ हजार १९ मत प्राप्त गरेका छन् । कांग्रेसका गुरुराज घिमिरेले ७ हजार २९६ र एमालेका जीवन घिमिरेले ४ हजार २६७ मत पाएका छन् ।