विराटनगर। मोरङ क्षेत्र नं. ६ मा नेकपा एमालेका उम्मेदवार विनोद ढकाल को अन्तिम चुनावी सभा विराटनगरमा र सम्पन्न भएको छ। महानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍याली महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ हजारौं समर्थकको सहभागिता देखिएको थियो।

सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव योगेश भट्टराई ले विराटनगरको “शाख फर्काउने” नेतृत्व ढकालले मात्र गर्न सक्ने दाबी गरे। विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने र यहाँका बासिन्दाको आत्मसम्मान उकास्ने क्षमतायुक्त उम्मेदवारका रूपमा ढकाललाई प्रस्तुत गरे।

कार्यक्रममा एमालेका पूर्व उपाध्यक्ष गुरु बराल, पूर्व स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डित, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उम्मेदवार ढकालले राजनीतिक स्थायित्वका लागि एमालेलाई निर्णायक तहमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै पछाडि परेको विराटनगरको गौरव पुनःस्थापित गर्ने प्रतिबद्धता जनाए।सही प्रतिनिधि नपाउँदा विराटनगर हरेक क्षेत्रमा पछि परेको छ। उनले भने,अब नयाँ विराटनगर बनाउने अभियानमा म तयार छु।

ढकालले शिक्षा, स्वास्थ्यसहित समग्र विकासका एजेन्डा अघि सार्दै मतदातासँग अमूल्य मतको अपिल गरे।

एमाले विराटनगर महानगर कमिटी अध्यक्ष बलराम गिरीका अनुसार मोरङ–६ का २० वटै वडामा घरदैलो तथा कोणसभा कार्यक्रम उल्लासपूर्ण रूपमा सम्पन्न भइसकेका छन्।