विराटनगर।मोरङमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन प्रशासन र निर्वाचन कार्यालय तीव्र रूपमा जुटेका हुन्।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकारीहरूले तयारी सन्तोषजनकनै भएको  जानकारी दिएका छन्।

प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका लगायतका सामग्री पुगिसकेको छ। जिल्लाभर रहेका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा भोलिदेखि कर्मचारी परिचालन गरिने बताएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको र निर्वाचनमा खटिने ५ हजार ३४६ कर्मचारीले नियुक्तिपत्र बुझिसकेका छन्।

जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा स्थापना गरिने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारी व्यवस्थापन गरिएको दंगालले बताए ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रक्रिया सुरु गरिने  छ। मतगणना स्थलमा तारजाली घेराबार, सिसीटिभी जडान लगायत सुरक्षा व्यवस्था कडा बनाइँने छ। यस पटक मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना अलग–अलग स्थानबाट गरिने भएको छ।

निर्वाचन अधिकारी दंगालका अनुसार—

क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिकामा,

क्षेत्र नं. २ को विश्वनाथ मन्दिर सिजुवामा,

क्षेत्र नं. ३ को बेलबारी–३ स्थित भगवती माविमा,

क्षेत्र नं. ४ को जनता नमुना मावि विराटनगरमा,

क्षेत्र नं. ५ को सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालयमा,

र क्षेत्र नं. ६ को आदर्श माविमा गरिनेछ।

अघिल्ला निर्वाचनहरूमा केही क्षेत्रको मतगणना संयुक्त रूपमा हुँदै आएको भए पनि यसपटक पारदर्शिता र सहज व्यवस्थापनका लागि प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै मतगणना गर्ने निर्णय गरिएको बताएका छन्।