विराटनगर । झापाको दमक–कमल क्षेत्रको जीवनचोकमा चुनावी कार्यक्रम कभर गर्ने क्रममा पत्रकार अर्जुन आचार्यमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। ‘हाम्रोमत’का कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता आचार्य बिहीबार रिपोर्टिङकै सिलसिलामा आक्रमणमा परेका हुन्।
उक्त घटना केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को घरदैलो अभियानका क्रममा भएको जनाइएको छ। झापा क्षेत्र नम्बर ५ का उम्मेदवार ओलीको अन्तर्वार्ता लिन पुगेको पत्रकार टोलीमाथि एमाले निकट ‘भोलेन्टियर फोर्स’ भनिएको समूहले हातपात गरेको प्रत्यक्षदर्शीको भनाइ छ।
स्थानीय महिलाले राष्ट्रिय स्वतन्त्र पार्टी को चुनाव चिह्न ‘घण्टी’ देखाउँदै विरोध जनाएपछि उत्पन्न तनावबीच महिलामाथि भएको दुर्व्यवहारको दृश्य कैद गर्न खोज्दा आचार्यमाथि आक्रमण भएको दाबी गरिएको छ। घटनामा उनको मोबाइल खोसिएको, चस्मा फुटाइएको र मुक्का तथा बुट प्रहार गरिएको बताइएको छ। हाल उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
आचार्यका अनुसार आक्रमणकारीहरूले भिडियो मेटाउने प्रयास गर्दै मोबाइल खोसेका थिए। लक नखुलेपछि मोबाइल सडकमा फ्याँकिएको र आफूलाई जबर्जस्ती गाडीमा राख्न खोजिएको आरोप उनले लगाएका छन्।
घटना भएको केही घण्टा बित्दासमेत संलग्न व्यक्तिहरू पक्राउ नपरेको भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्। नेपाल पत्रकार महासंघ लगायत सञ्चारकर्मी संस्थाहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।




















