विराटनगर। श्री मिल्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हिरक जयन्तीको अवसरमा आयोजना गरिएको विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। विराटनगर–१६ रानी, मोरङमा अवस्थित विद्यालयले विविध कार्यक्रमसहित उत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौड प्रतियोगिता, रक्तदान कार्यक्रम, पूर्वविद्यार्थी मिलन, शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा विज्ञान–कला प्रदर्शनीलगायत कार्यक्रम सम्पन्न भएका छन्। फागुन २ गतेदेखि सुरु भएको कार्यक्रम फागुन ८ गते शुक्रबार मूल समारोहका साथ सम्पन्न हुने विद्यालयले जनाएको छ।
माधव अर्यालको अध्यक्षतामा आयोजित पुनर्मिलन कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै विशिष्ठ अतिथि पूर्वप्रधानाध्यापक दिनेश श्रेष्ठ, बिन्दु कुमार लावती, मुरारी रेग्मी र सूर्य नारायण यादवलगायतको उपस्थिति रहेको थियो।
विद्यार्थी पुनर्मिलन कार्यक्रममा पूर्वविद्यार्थीहरूले आ–आफ्नो अनुभव र धारणा व्यक्त गर्दै विद्यालय र शिक्षकवर्गप्रति कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रमले पुराना विद्यार्थीबीच आत्मीयता बढाउनुका साथै विद्यालयप्रति सम्बन्ध अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।






















