विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा (एमाले)का नेता विनोद ढकालले बुवाको निधनपछि कोरामा बसेरै आफ्ना ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
विराटनगर–५ सम्झना चोकस्थित कोराबसेको निवासबाट क्षेत्रगत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षासम्म समेटिएको विस्तृत योजना आइतबार बाहिर ल्याइएको हो । प्रतिबद्धता पत्र एमाले नेता सत्यनारायण चौधरीले सार्वजनिक गरेका थिए। कार्यक्रममा मोरङ–६ का चुनावी कमाण्डर एवं पूर्वमन्त्री लालबाबु पण्डितले पत्रकारसँग सवालजवाफ समेत गरेका थिए ।
शोकको घडीमा सार्वजनिक गरिएको प्रतिबद्धताले आफू व्यक्तिगत पीडामा रहे पनि जनताप्रतिको दायित्वबाट पछि नहट्ने सन्देश दिए ढकालले शनिबार नै सन्देशमा जारी गरेर अहिले बुवाको काममा व्यस्त रहे पनि मन मतदातासँगै रहेको उल्लेख गरेका थिए ।
उनले पार्टीका कार्यकर्ताहरूले घरदैलोमा पुगेर आफ्ना एजेण्डा राख्ने जानकारी पनि दिएका छन् । ढकालको ३० बुँदे प्रतिबद्धतामा विराटनगरको ढल निकास तथा डुबान समस्या समाधानका लागि गुरुयोजना बनाउने, चक्रपथसहित प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने र गछिया, बुढीखोला, केशलिया तथा सिंगिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याउने उल्लेख छ । बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्धन र मजदुर हितका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षातर्फ स्मार्ट क्लासरुम नीति, जेनजी लक्षित प्रविधिमैत्री सिकाइ, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम, विश्वविद्यालय तथा क्याम्पसको सुव्यवस्था र स्वरोजगारमुखी शिक्षा लागू गर्ने योजना अघि सारिएको छ । मदरसा र गुरुकुलसहित धार्मिक विद्यालयलाई विश्वविद्यालयीय शैक्षिक कार्यक्रममा जोड्ने, थारु समुदायको भाषा संस्कृति संरक्षण गर्ने तथा मठमन्दिर, मस्जिद, चर्च, गुम्बालगायत सांस्कृतिक धरोहर संवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
स्वास्थ्यतर्फ सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, कृषिमा मल, बीउ र खाद समयमै उपलब्ध गराउने, सिँचाइ विस्तार तथा अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने योजना छ । कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालनमा प्रोत्साहन गरिने उल्लेख छ ।
हसिना सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, कोशी नहरको विराटनगर शाखा करिडोर, गछिया र बुढीखोलाको किनार सुन्दर र हरियाली बनाउने, खुला व्यायामशाला मिनीपार्क स्थापना गर्ने योजना अघि सारेको छ । साथै, गछियालाई केन्द्र बनाएर प्रशासनिक कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता छ ।
ढकालले पूर्वमन्त्री लालबाबु पण्डितको कार्यकालमा सुरु भई अधुरा रहेका आयोजना प्राथमिकताका साथ पूरा गर्ने बताए।
मोरङ–६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासहित अन्य दलका र स्वतन्त्र गरेर १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । शोकका बीच प्रतिबद्धता सार्वजनिक गरेर ढकालले चुनावी प्रतिस्पर्धामा आफूलाई सहयोग गर्न मतदातासँग आग्रह गरेका छन् ।




















