विराटनगर ।कोशी प्रदेशस्तरको ललितकला प्रदर्शनीअन्तर्गत चित्रकलामाथी कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित मारवाडी सेवा सदनमा सञ्चालन भइरहेको प्रदर्शनीमा शनिबार चित्रकलामाथि आधारित कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
प्रदर्शनीका क्रममा अघिल्लो दिन सिर्जना गरिएका चित्रहरूलाई आधार मानेर विभिन्न कविहरूले रचनात्मक कविता वाचन गरेका थिए । कलाकार युवराज रिजालको चित्रमा लक्ष्मणकुमार नेवटिया, गणेश लामाको चित्रमा हरि कट्टेल, नर श्रेष्ठको चित्रमा अञ्जु अश्रु, कुन्दन श्रेष्ठको चित्रमा शुभलक्ष्मी लम्साल, प्रेम केसीको चित्रमा रमेशचन्द्र अधिकारी र दत्त प्रमोदको चित्रमा राजेन्द्र गुरागाईंले कविता प्रस्तुत गरे ।
यसैगरी डिल्लीकृष्ण आलेको चित्रमा लक्ष्मी रायमाझी, प्रकाश चौधरीको चित्रमा रञ्जना भट्टराई, उद्धव गुरुङको चित्रमा लक्ष्मी पोखरेल तथा कलाकार छितेन शेर्पाको चित्रमा कविता केशरीले वाचन गरे। तिलक राईको चित्रमा मीनकुमार नवोदित, सञ्जु थापा मगरको चित्रमा सरिता तुलाधरले रचना प्रस्तुत गरे ।
कार्यक्रममा सञ्जय सयलको चित्रमा धीरज राई, अरुणा हिङमाङको चित्रमा भीम कोइराला, आयुषाको चित्रमा कारी मण्डल, शिव छाङ्छा राईको चित्रमा चिरञ्जीवि काफ्ले, यशोदाकुमारी सिंहको चित्रमा चूडामणि नेपाल अकिञ्चन, कुमार सानु (विष्णुकुमार थापा)को चित्रमा पूजा बहार, भीम पुरीको चित्रमा निर्मला नेपाल तथा डीवी राईको चित्रमा कवि सुजाता राईले कविता वाचन गरे ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत हरेक दिन कला र साहित्यसँग सम्बन्धित पृथक् सत्रहरू आयोजना भइरहेको छ। आयोजकका अनुसार चित्र, साहित्य र समकालीन विमर्शलाई एउटै मञ्चमा उभ्याउने प्रयासस्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले भौतिक पूर्वाधारसँगै भाषा, साहित्य र कलाको विकास अपरिहार्य रहेको बताएका छन् । भाषा, कला, साहित्य र संस्कृतिको सुदृढीकरणबिना राष्ट्रको समृद्धि सम्भव हुँदैन,’ उनले भने ।
त्यसैगरी विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार गंगा सुवेदी, खेम नेपाली, मधु पोखरेल तथा आयोजक समितिका संयोजक सञ्जय बान्तवालगायतले कला–साहित्य संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए ।
माघ २९ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन ४ गते सोमबारसम्म सञ्चालन हुने सहआयोजक विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी (दिङलाली कान्छो)ले जानकारी दिए ।




















