विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा आजबाट कोशी प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
५ दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला तथा अन्य सिर्जनात्मक विधाका दुई सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको छ ।सोही कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महत्त्वले रिबन काटेर कोशी प्रदेशीय ललितकला प्रदर्शनीको उद्घाटन गरेका थिए।



आयोजक समितिका संयोजक प्राज्ञ संजय वान्तवाका अनुसार प्रदर्शनीमा कोशी प्रदेशका १६४ जना कलाकारका सिर्जनाहरूलाई प्रदर्शनीमा राखिएको छ । साथै कला र साहित्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने र कविता वाचन, सिर्जनात्मक प्रस्तुति तथा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने छ। गत वर्ष इटहरी म्याट्रिक्स र बेलबारी नगरपालिकास्थित तुम बुद्धिष्ट गुम्बामा सम्पन्न कोशी प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सफल भएकाले यस वर्ष विराटनगरलाई केन्द्र बनाइएको आयोजक विक्रम श्रीले बताएका छन् ।उनका अनुसार यो कलाले सबैको मन जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





कार्यक्रम तालिकाअनुसार आज पहिलो दिन उदघाटन भयो भने, दोस्रो दिन चित्रकला कार्यशाला, तेस्रो दिन चित्रमाथि लेखिएका कविता वाचन, चौथो दिन विद्यालय तथा कलेजका विद्यार्थीका लागि अवलोकन भ्रमण र पाँचौं दिन समापन प्रमाणपत्र वितरण कार्यक्रम राखिएको छ ।




















