विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले मतदाताबाट संकलित सुझावलाई नै आफ्नो मुख्य एजेण्डा बनाएर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले पहिलो चरणको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन् । त्यस क्रममा प्राप्त सुझाव र गुनासालाई समेटेर औपचारिक प्रतिबद्धता पत्र ल्याइने उनले बताएका छन्  ।

प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै प्रतिबद्धता सार्वजनिक गरिने जानकारी दिएका हुन।

घिमिरेका अनुसार मोरङ–४ का मतदाताले विशेषगरी सडक स्तरोन्नति, बर्सेनि दोहोरिने डुबान समस्या, सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा, कृषकका उत्पादनको मूल्य र बजार व्यवस्थापनजस्ता विषयलाई प्रमुख एजेण्डा बनाएका छन् । ‘जनताले धेरै ठूलो अपेक्षा राखेका छन् । विगतमा पटकपटक जितेर गएकाहरूले अपेक्षाअनुसार काम नगरेको गुनासो व्यापक रूपमा आएको  घिमिरेले बताए। 

घिमिरेका अनुसार फागुन ४ गतेदेखि टोलसभा, कोणसभा र चुनावीसभा औपचारिक रूपमा सुरु गरिनेछ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय खुला भएपछि अभियान थप सशक्त बनाइने बताएका छन् । 

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्तापछि गरिएको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा अपेक्षाभन्दा धेरै सहभागिता पाइएको उनको भनाइ छ । 

घिमिरे कोशी प्रदेश सरकारका संस्थापक सामाजिक विकास मन्त्री हुन् । उनले करिब ३ वर्ष मन्त्रालय सम्हाल्दा शिक्षा, स्वास्थ्य, खेलकुद, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिका क्षेत्रमा विभिन्न कार्यक्रम  गरेका थिए ।

घिमिरे आफूले सार्वजनिक गर्न लागिएको प्रतिबद्धता पत्र चुनावी दस्तावेज नभई ५ बर्से कार्ययोजनाको आधार बन्ने दाबी गर्दै  जनताको सुझावलाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्यदिशा दिनेछौं उनको भनाइ छ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ–४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो रणनीति र एजेण्डासहित मैदानमा उत्रिएका छन् ।

मतदाताको सुझावलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र ल्याउने घिमिरेको घोषणाले चुनावी प्रतिस्पर्धालाई कडा बनाउने अपेक्षा गरिएको छ ।