विराटनगर। झापाको भद्रपुरमा अवकाशप्राप्त शिक्षक खेमराज ढकालको हत्या एनेस्थेसियामा प्रयोग हुने घातक औषधि शरीरमा सुईमार्फत प्रवाह गरेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
भद्रपुर नगरपालिका–१० त्रिवेणी टोल निवासी ६६ वर्षीय ढकालको बिहीबार साँझ घाँटीमा ‘प्रोपोफोल’ नामक औषधि सुईमार्फत प्रवेश गराइ हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शल्यक्रियाअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने उक्त औषधि अत्यधिक मात्रामा शरीरमा पुगेपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको हो ।
घटनामा संलग्न आरोपमा सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सिंहले आफ्नै कलेजमा अध्ययनरत एक कनिष्ठ छात्राकी बाबु ढकाललाई लक्षित गरी योजनाबद्ध रूपमा हत्या गरेका हुन्।
प्रहरीका अनुसार साँझ करिब ६ः२० बजेतिर घरमै बसिरहेका ढकालको घाँटीमा सिंहले आफूले ल्याएको केमिकलयुक्त सिरिन्जले एक्कासी प्रहार गरेका थिए। गम्भीर अवस्थामा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेका थिए ।
अनुसन्धानमा हत्या व्यक्तिगत रिसइबीका कारण गरिएको खुलेको छ। सिंहले मृतककी छोरीलाई प्रेम प्रस्ताव राखेको तर अस्वीकार भएपछि दुवैबीच सम्बन्ध बिग्रिएको प्रहरीले जानकारी दिए।
यसअघि पनि सिंहले ती छात्राको फोटो सम्पादन गरी बदनाम गर्ने प्रयास गरेको र सो विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको तथ्य खुलेको छ।
रिस फेर्न सिंह बिहीबार बिहानैदेखि ढकालको घर आसपास रेकी गर्दै ‘शिक्षक चाहिएको’ बहाना बनाएर घर पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार प्रयोग गरिएको औषधिको थप प्रयोगशाला परीक्षण भइरहेको छ। पक्राउ परेका सिंहमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ ।




















