काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो। समितिमा काठमाडौँ महानगरपालिका, वडा नं. ८ कार्यालयलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार समितिले पशुपति क्षेत्रभित्र सरसफाइ, सुरक्षा, स्वास्थ्य सेवा, यातायात व्यवस्थापन, भक्तजनका लागि सुविधा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारीको समन्वय गर्नेछ।

महाशिवरात्रिका अवसरमा देश–विदेशबाट लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भएकाले यस वर्ष विशेष तयारी गरिएको कोषले जनाएको छ। समितिले सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै पर्वलाई मर्यादित र सफल बनाउन काम गर्नेछ।