विराटनगर ।खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित विवाह भोजपछि सामूहिक रूपमा फुड प्वाइजनिङ भएको आशंकामा १ सयभन्दा बढी स्थानीय बिरामी परेका छन् ।

भोजमा सहभागी अधिकांश व्यक्तिमा एकैखालका स्वास्थ्य समस्या देखिएपछि स्थानीय तहले आकस्मिक उपचार शिविर सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अनुसार माघ २१ गते विवाह भोज खाएका जन्ती तथा स्थानीयहरू माघ २२ गते साँझदेखि एकपछि अर्को गर्दै बिरामी पर्न थालेका थिए । प्रारम्भिक लक्षणका रूपमा ज्वरो आउने, काम्ने, झाडापखाला लाग्ने र वान्ता हुने समस्या देखिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

भोजमा सहभागी बेहुला र बेहुलीसमेत बिरामी परेका हुन् । बिरामीको संख्या एक्कासि बढेपछि दिप्लुङस्थित निगालावास भञ्ज्याङमा स्थानीय रामकुमार राईको निवासमा अस्थायी उपचार शिविर स्थापना गरी उपचार थालिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताएका छन्।

बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट थप जनशक्ति र औषधि मगाइएको छ ।

हालसम्म अधिकांश बिरामी उपचारपछि घर फर्किसकेका छन् । यद्यपि करिब ३५ जनाको अवस्था गम्भीर रहेकाले स्लाइन पानी, जीवनजललगायत औषधि प्रयोग गरी उपचार भइरहेको छ ।