विराटनगर।झापाको भद्रपुरमा सिरिन्ज प्रहार गरी एक वृद्धको हत्या भएको छ। घटनामा एमबीबीएस अध्ययनरत विद्यार्थी संलग्न रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले भद्रपुर–१० निवासी ६६ वर्षीय खेमराज ढकालको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार सिंह धरानमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी बुधबार भद्रपुर आएर एक होटलमा बास बसेका थिए । बिहीबार साँझ ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज प्रहार गरी त्यसमा भरिएको रसायन शरीरभित्र पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्जभित्र प्रयोग गरिएको रसायनको पहिचान हुन बाँकी छ । रसायन के हो भन्नेबारे थप परीक्षण तथा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार सिंह र ढकालकी छोरी एउटै कलेजमा अध्ययनरत रहेकाले उनीहरूबीचको व्यक्तिगत रिसिबीका कारण घटना घटेको हुन सक्ने देखिएको छ । घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान तीब्र पारिएको प्रहरीले जनाएको छ ।
ढकालको शव पोस्टमार्टमका लागि भद्रपुर प्रादेशिक अस्पताल पठाइएको छ ।