विराटनगर ।काठमाडौं ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६० निर्वाचन क्षेत्रका लागि कुल ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार छापिएका मतपत्रमध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ समेत पूरा भइसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला बाहेक अन्य सबै प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेकामा सोहीअनुसार कार्य अघि बढाइएको छ । यसअघि समानुपातिकतर्फका दुई करोड चार लाख मतपत्र छपाइ सम्पन्न गरी माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।

आयोगले उच्च हिमाली तथा दुर्गम जिल्लालाई प्राथमिकतामा राखी मतपत्र छपाइ र ढुवानीको कामलाई निरन्तरता दिइरहेको छ । माघ २५ गतेदेखि फागुन ३ गतेसम्म मतपत्र तथा निर्वाचन सामग्री जिल्ला–जिल्लामा पठाउने तयारी भइरहेको छ ।

निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमार्फत नै खरिद गर्ने व्यवस्था गरिएको छ । तर, केही विशेष निर्वाचन सामग्री भने आयोगले केन्द्रीय रूपमा खरिद गरी जिल्लामा पठाउने तयारी गरेको छ ।

सडक सञ्जाल पुगेका उच्च पहाडी तथा हिमाली जिल्लामा ट्रकमार्फत र अति उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपत्र तथा निर्वाचन सामग्री ढुवानी गरिने आयोगले जनाएको छ । साथै, विसं २०७९ को निर्वाचनका क्रममा खरिद भई बाँकी रहेका सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री काठमाडौं वरपर तथा नजिकका जिल्लामा पठाइएको जानकारी पनि आयोगले दिएको छ ।