विराटनगर ।बैतडी जिल्लामा जन्ती बोकेको यात्रुबाहक बस भीषण दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ। ४५ जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको सुपप्र ०२–००१ ख ११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेहरूमा बझाङ जिल्लाका विभिन्न स्थानका नागरिक रहेका छन्। मृतकहरूमा बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी छन्। त्यस्तै, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट र जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको पुष्टि भएको छ। यसैगरी, बैतडीकै पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।