विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) पूर्वी नेपाल केन्द्रित जिल्ला दौडाहाका क्रममा बुधबार मोरङ हुँदै विराटनगर आइपुगेका छन् । मोरङका विभिन्न पालिका पार गर्दै आएका बालेन विराटनगरमा केही समय मात्रै रहेर सुनसरीतर्फ प्रस्थान गरेका हुन् ।
बिहान मोरङको उर्लाबारीबाट सुरु भएको उनको यात्रा पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगर प्रवेश गरेको थियो । विराटनगरमा बालेनले पार्टी कार्यकर्ता, समर्थक र सम्भावित उम्मेदवारहरूसँग सामान्य भेटघाट तथा छलफल गरेका छन् ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका बालेन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनको चर्चा अझ व्यापक बनेको छ ।




















