विराटनगर । मोरङको रंगेलीमा मंगलबार बिहान घरेलु विवादका क्रममा एक युवकले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।

रंगेली नगरपालिका–५ बहुवन निवासी अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा पुगेर पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार घटना बिहान करिब २ः४५ बजे भएको हो। मुकेश सोमबार बेलुका ससुराली घर पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार घरेलु विवादका क्रममा उनले पत्नीमाथि कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीको हत्या गरेपछि मुकेशले पनि सोही चक्कु प्रयोग गरी आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मुकेशको पनि घटनास्थलमै मृत्यु भएका छन्।