विराटनगर। नेकपा (एमाले) का सचिव तथा तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेको सिट संख्या वृद्धि हुने दाबी गरेका छन्।

विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव ढकालले भदौ २३ र २४ गते भएको जेन–जी युवाहरूको आन्दोलनपछि शहरी क्षेत्रसहित अन्य स्थानमा नयाँ पार्टीका नयाँ अनुहारप्रति आकर्षण देखिए पनि त्यसको प्रभाव दीर्घकालीन नहुने बताए। उनले त्यसलाई “खहरे खोलामा एक्कासि पानी आउँजस्तै क्षणिक रूपमा बढेर जाने” उपमा दिए।

ढकालले नेकपा एमालेले प्रत्यक्षतर्फ बहुमत सिट जितेर सरकार गठन गर्ने र नेतृत्व गर्ने दाबीसमेत गरे। समानुपातिक सिटमा भने केही घटबढ हुन सक्ने उनको भनाइ थियो। उनले सरकारलाई निष्पक्ष र सुरक्षित चुनावी वातावरण बनाउन अझ सक्रिय हुन आग्रह गरे।

मोरङ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचनभन्दा सिट संख्या बढ्ने दाबी गर्दै उनले झापा–५ मा बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गराउने र प्रधानमन्त्री बन्न नदिने रणनीति हुनसक्ने चर्चा पनि सार्वजनिक गरे।

ढकाल उम्मेदवार रहेको तेह्रथुम–१ निर्वाचन क्षेत्रमा ७ पालिकाका ४३ वटा वडा समेटिएका छन्, जहाँ करिब ७२ हजार मतदाता रहेका छन्।

पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी मोरङका अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।