विराटनगर ।काठमाडौं,अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक जना पनि घाइते नहुने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षामा अत्यन्त संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्न प्रहरीलाई आग्रह गरिन्। उनले भनिन्, आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन।
प्रधानमन्त्री कार्कीले १८ महिना लामो तालिम पूरा गरी कार्यक्षेत्रमा खटिन लागेका ९२ जना प्रहरी निरीक्षकहरूलाई व्यावसायिकता, निष्पक्षता र कानूनको पालना गर्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।
दीक्षान्त समारोहमा १८३ औँ समूहका प्रहरी निरीक्षकहरू दीक्षित भएका हुन्, जसमा ९ महिला र ८३ पुरुष रहेका छन्। कार्यक्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्।




















