विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ९ जना व्यक्तित्व तथा संस्थालाई प्रदान गरिने पुरस्कारहरूको घोषणा गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा र बालप्रतिभालगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टा तथा अभियन्ताहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।

घोषणा अनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिको जगतबन्धु–अन्जु कार्की चेतना विशेष सम्मान कलाश्री विनोद खनाल (बटियामारी, आसाम) लाई प्रदान गरिनेछ । त्यस्तै, हरिभक्त, खगेन्द्र र दिनेश सिटौलाद्वारा आफ्ना अभिभावकको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरिने भएको छ ।

ललितकलातर्फ गंगा सुवेदीद्वारा स्थापित ५१ हजार रुपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललितकला चेतना सम्मान कलाकार मुकेश मल्ल (काठमाडौं) ले प्राप्त गर्नेछन् । समाजसेवातर्फ दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको सम्झनामा स्थापना गरिएको ५१ हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल समाजसेवा सम्मान सामाजिक अभियन्ता डा. ओममूर्ति अनिल (महोत्तरी) लाई प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

धार्मिक तथा मानवीय सेवाको क्षेत्रमा क्रियाशील परमार्थ सिंघिया आरती तथा धार्मिक जागरण, विराटनगरलाई समाजसेवी देवेनरा मुन्दडा परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी सनातन मानवीय धर्म–संस्कृति सम्मान प्रदान गरिनेछ ।

युवाप्रतिभातर्फ सरला चापागाईंले स्थापना गरेको ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र–भवानीशंकर–योगमाया चापागाईं युवाप्रतिभा चेतना सम्मान एन्जिला तुम्बापो सुब्बालाई प्रदान गरिने भएको छ । पत्रकारितातर्फ दिनेश सुवेदीद्वारा स्थापित ५१ हजार रुपैयाँ राशिको नरेश सुवेदी पत्रकारिता चेतना सम्मान वरिष्ठ पत्रकार मातृका पौडेल (रामेछाप) लाई प्रदान गरिनेछ ।

यसैगरी मञ्जु सत्यालद्वारा स्थापित २१ हजार रुपैयाँ राशिको केदारनाथ–मञ्जु सत्याल बालप्रतिभा चेतना सम्मान मोरङका बालप्रतिभा बबिता राजवंशी र मिसराना खातुनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ ।

प्रतिष्ठानले नियमित मासिक कार्यक्रम सञ्चालन गर्नुका साथै ‘चेतना सन्देश’ पत्रिका प्रकाशन गर्दै आएको छ । घोषित पुरस्कारहरू माघ २४ गते शनिबार विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच वितरण गरिने प्रतिष्ठानले जानकारी दिएको  छ । वार्षिकोत्सव समारोहले स्रष्टा, साधक तथा समाजसेवीहरूको योगदानलाई उजागर गर्दै सिर्जनशीलता र मानवीय मूल्यको प्रवर्द्धनमा थप प्रेरणा दिने विश्वास अध्यक्ष सुवेदीले व्यक्त गरिन् ।