विराटनगर।काठमाडौं,राजधानीको मण्डिखाटार क्षेत्रमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन शाहको निवासमा चोरी भएको छ । बालेन र उनकी पत्नी घर बाहिर रहेको समयमा चोरी भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा नियमित रूपमा घरको हेरचाहका लागि पुग्दा चोरी भएको थाहा भएपछि उनले घर पुग्दा मुख्य ढोका फुटाइएको र भित्रका सामान तितरबितर अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका दुई–तीन वटा सीसीटीभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (DVR) मेसिन तथा बाथरुम र भान्सामा जडान गरिएका धाराका टुटीसमेत चोरी गरेर लगेका हुन्। अन्य सामानको क्षतिबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
घटनाको जानकारी प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको अनुमान गरिएको छ । सीसीटीभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो घटना पेशेवर समूहबाट भएको हुन सक्ने प्रहरीको निष्कर्ष छ। चोरी १४ गतेदेखि शुक्रबार साँझको बीचमा कुनै समयमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले हाल घटनास्थलको मुचुल्का उठाइसकेको र सम्भावित शंकास्पद व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।




















