विराटनगर । एक महिनाअघि दम्पतीको हत्या भएको ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेमा पुनः अर्का दम्पतीको हत्या भएको छ ।
प्रहरीले लामो अनुसन्धानपछि अघिल्लो हत्याको घटनाका संलग्न पक्राउ समेत गरिसकेको छ । तर त्यो घटना सेलाउन नपाउँदै भदौरेमै ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भएको हो ।
अघिल्लो पटक झैं घरमा लुटपाट गरेपछि यसपटक पनि दम्पतीको हत्या भएको चिसंखुगढी–६ का वडाध्यक्ष बलराम कटवालले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले दम्पति हत्याको घटना भएको पुष्टि गर्दै आफैं घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् ।
उनले घटनास्थलमा प्रहरी टोली भने पुगिसकेकोले अनुसन्धान अघि बढिसकेको बताए ।
गत पुस १५ मा भदौरेस्थित शोभितमान किराना पसलका संचालक ६० वर्षीय सोवितमान मगर र उनकी श्रीमति ६० वर्षीया रत्नमाया मगरको लुटपाटपछि हत्या भएको थियो ।
उक्त घटनामा ओखलढुंगा प्रहरीको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय र सिआईबीको समेत अनुसन्धान टोली खटिएर चार जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइसकेको छ ।




















