विराटनगर।इटहरी,११ खनारस्थित बुढीखोलामा पछिल्लो समय पानीमा चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। सामाजिक सञ्जालमा बुढीखोलाका आकर्षक दृश्य र चिप्लेटी खेल्दै गरेका भिडियोहरू भाइरल भएपछि त्यहाँ पुग्नेको भीड बढेको हो।

बुढीखोलाको पुल नजिकै र बाँध क्षेत्रमा दैनिकजसो मानिसहरूको घुइँचो लाग्ने गरेको छ। तर चिप्लो ढलान र वर्षा याममा तीव्र बहावका कारण लडेर घाइते हुने घटनाहरू पनि बढ्न सक्ने देखिएको छ। स्थानीयका अनुसार सामान्य चोटपटकदेखि गम्भीर दुर्घटनासम्मका जोखिम देखिन थालेपछि चिन्ता बढेको बताउँछन्।

यसैबीच बुढीखोला झरना संरक्षण व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम सुरु गरेको जनाएको छ। समितिले पर्यटकको सुविधाका लागि पूर्वाधार विकासमा ध्यान दिइरहेको भए पनि खोलामा चिप्लिएर ढुंगामा ठोक्किने जोखिम कायमै रहेको बताएको छ।