विराटनगर।सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया किशोरी निशा बानियाँको शव पोस्टमार्टमका क्रममा अस्पतालबाटै बेपत्ता भएको घटनाले जिल्लामा गम्भीर तनाव सिर्जना उत्पन्न भएको छ। घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका छन्।
रमेश बानियाँकी छोरी निशाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो।
प्रहरीका अनुसार गत माघ ९ गते किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले प्रारम्भिक अनुसन्धानका आधारमा आत्महत्या भएको ठहर गर्दै मुचुल्का उठाई शव पोस्टमार्टमका लागि लहान पठाएको थियो।
मृतकका आमा–बुबा रोजगारीका सिलसिलामा भारतमा रहेकाले उनीहरू माघ ११ गते शव बुझ्न अस्पताल पुगेका थिए। तर अस्पताल प्रशासनले शव नदेखाएपछि घटनाले नयाँ मोड लिएको स्थानीयको भनाइ छ।
स्थानीयवासी तथा आफन्तले घटनालाई शंकास्पद भन्दै निष्पक्ष र गहिरो छानबिनको माग गरेका छन्।
स्थानीय आनन्द लामा भन्छन्,,लहानबाट फर्किएपछि भएको मृत्यु र त्यसपछि अस्पतालबाटै शव हराउनु अत्यन्तै गम्भीर विषय हो। घटनामा कतै न कतै मिलेमत्तो भएको आशंका छ, निष्पक्ष छानबिन हुनैपर्छ।”
घटनाबारे जिल्ला प्रशासन र सुरक्षा निकायले अनुसन्धान अघि बढाएको जनाए पनि शव बेपत्ता हुनुको यथार्थ कारण अझै खुल्न सकेको छैन।




















