विराटनगर ।२०८२/१०/१०/  विराटनगर ,न्यू सृष्टि दैनिकले विगत १५ वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। 

विराटनगरस्थित होटेल एसियाटिक मा आयोजना गरिएको कार्यक्रम मा मह जोडी प्रमुख अतिथि थिए।वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए।

विशिष्ट अतिथिमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल र वरिष्ठ गायिका देविका बन्दना प्रधान सहभागी थिइन्।

चलचित्र अभिनेत्री अन्जना बराइली प्रतिकूल मौसमका कारण काठमाडौंबाट उडान रद्द हुँदा कार्यक्रममा सहभागी हुन सकिनन्।

प्रमुख अतिथि श्रेष्ठ र आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए

स्वागत मन्तव्यमा वरिष्ठ सम्पादक निर्मल ढुंगानाले स्थानीय मुद्दालाई प्राथमिकता दिएकै कारण न्यू सृष्टि दैनिक लोकप्रिय बन्न सफल भएको बताए। उनले विज्ञापनमा आएको संकुचन, अस्वस्थ प्रतिस्पर्धा र शिथिल अर्थतन्त्रका कारण छापा माध्यम संकटमा परेको उल्लेख गरे।

विभिन्न विधामा सम्मान तथा नगद पुरस्कार

कार्यक्रममा समाज, उद्योग, शिक्षा, स्वास्थ्य, पत्रकारिता, कला, खेलकुद, युवा, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

न्यू सृष्टि दैनिक स्व. जगदीशप्रसाद राठी उद्यमी पुरस्कार – देवकीनन्दन अग्रवाल

(नगद रु. ११,१११ र सम्मानपत्र)

युवा उद्यमी पुरस्कार – दिवाकर राठी

न्यू सृष्टि दैनिक पत्रकारिता पुरस्कार – अरविन्द मेहता

(नगद रु. ९,९९९)

स्व. महेन्द्र गोल्छा आर्थिक पुरस्कार – राजेन्द्र राउत

(नगद रु. ५१,०००)

स्वास्थ्य पुरस्कार – जलन विशेषज्ञ डा. मुकुन्द झा

(नगद रु. ११,१११)

सर्वोत्कृष्ट टिकटक अवार्ड – टीनाराज गुरुङ (पोखरा)

शिक्षा पुरस्कार (स्व. शिरीष रिजाल) – ज्ञानबहादुर खड्का

साथै सामुदायिकतर्फ सत्यनारायण माध्यमिक विद्यालय र संस्थागततर्फ बीकेभिएम स्कुल

कला पुरस्कार – बसुन्धरा भुषाल

खेलकुद पुरस्कार – वैकुण्ठ मानन्धर

संगीत पुरस्कार – देविका बन्दना प्रधान

फरक क्षमता युवा खेलाडी पुरस्कार – स्वीकृत न्यौपाने

विशेष नागरिक सम्मान – मदनकृष्ण श्रेष्ठ

कलाकारहरूको सन्देश

सम्मानपछि बोल्दै हरिवंश आचार्यले न्यू सृष्टि दैनिकबाट पाएको सम्मानले आफू गौरवान्वित भएको बताए। मदनकृष्ण श्रेष्ठले दर्शकलाई भगवानको संज्ञा दिँदै सबै दलको उद्देश्य देश विकास नै भएको बताएका थिए।

कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्काले देशभक्ति गीत प्रस्तुत गर्दै माहौल तताएका थिए।

निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन

वार्षिकोत्सवकै अवसरमा लाईफ लङ पोलिक्लिनिक प्रा.लि., विराटनगर–११ को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा फिजिसियन, आँखा, नाक–कान–घाँटी तथा दाँत रोग विशेषज्ञद्वारा सुगर, प्रेसर, थाइराइड, दम, बाथ, पेट, ग्यास्ट्रिक र किड्नीसम्बन्धी परीक्षण गरिएको थियो। 

न्यू सृष्टि दैनिकका प्रबन्धक एवं प्रधानसम्पादक शंकर खरेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक र सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरे।