विराटनगर ।काठमाडौं, १० माघ । शब्दार्थ प्रकाशन, काठमाडौंले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार डा:देवी पन्थीलाई “वैजयन्ती स्रष्टा सम्मान” प्रदान गरेको छ।
फारसी गजलजस्तो कठिन प्राविधिक विधाको विकल्पका रूपमा चारु विधालाई नेपाल भूमिबाट प्रारम्भ गरी अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान दिलाउँदै नेपालको साहित्यिक प्रतिष्ठा बढाएको योगदानको कदरस्वरूप पन्थीलाई उक्त सम्मान प्रदान गरिएको शब्दार्थ प्रकाशनका निर्देशक विनयकुमार नेपालले जानकारी दिए।
सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. विद्यानन्द कोइरालाले पन्थीलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरेका थिए। कार्यक्रममा सम्पादकद्वय डा. रमेश शुभेच्छुक र यादव भट्टराई तथा निर्देशक विनयकुमार नेपालले संयुक्त रूपमा सम्मान अर्पण गरेका हुन्।
समारोहमा काठमाडौं, भक्तपुर र ललितपुरका अग्रज साहित्यकार, पत्रकार तथा शिक्षासेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा शब्दार्थ प्रकाशनको ९४औँ अङ्क ‘चारु विशेषाङ्क’का रूपमा प्रकाशित गरिएको जानकारी पन्थीले दिए।




















