विराटनगर।भोजपुर ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरका ३३ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा जोखिमको मूल्यांकनपछि जिल्ला सुरक्षा समितिले जिल्लाका कुल ८७ मतदानस्थलमध्ये ३३ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ३४ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार विगतका निर्वाचनको अवस्था, राजनीतिक दलको प्रभाव, सञ्चार तथा यातायातको पहुँचलगायत पक्षलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता निर्धारण गरिएको हो । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायले समन्वयात्मक रूपमा सुरक्षा योजना कार्यान्वयन गरिरहेका छन् ।

भोजपुरमा आसन्न निर्वाचनका लागि १२ राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)बाट शेरधन राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिस्ट पार्टीबाट अजम्बर काङमाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, नेकपा (माओवादी केन्द्र)बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई र आमजनता पार्टीबाट युवराज थापा उम्मेदवार रहेका छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा ८७ मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लामा एक लाख २५ हजार ६६६ जना मतदाता दर्ता छन् ।