हरेक पाँच पाँच वर्ष नपुग्दै 

राष्ट्रिय मेला लाग्ने 

मेरो देशमा ,

ब्यापारी बढेर होला 

यसपालि फेरि 

मेला लाग्ने भएको छ ।


ब्यापारीहरू 

मोलमलाई गर्न 

गाऊँका झुपडी र 

गल्लीहरूमा

कहिल्यै प्राप्त गर्न नसकिने

आश्वासन, झुटको खेती 

अनि 

अनि मिठा सपना बाँड्दै 

घुम्न थालेका छन्  ।


बर्सेनि बढ्दै गरेको बेरोजगार 

किसानका पीडा र

सहरीकरणले‌ 

आक्रान्त पारेको म र

मेरो बस्ती 

फेरि त्यही अनुहारका 

पछि लागेर थोरै दररेटमा 

बेचिँदै छौं । 


हरेकालाई आफ्नो 

अस्तित्व बेच्न पल्केको म 

यो पटक पनि पहिले जस्तै 

बेचिने दाऊमा छु 

दास भई बाच्ने मेरा रहर

अझै पूरा भए जस्ता छैनन् ।

म अझै पनि बिक्रीमा छु 

म अझै बिक्रीमा छु  ।


चिरञ्जीवी काफ्ले 

रङ्गेली ९ दोहमना 

      मोरङ्ग