विराटनगर। साहित्यकार तथा समालोचक भवानीप्रसाद पोखरेलद्वारा लिखित एघारौँ कृति बाल कथा सङ्ग्रह ‘अन्धविश्वास’को लोकार्पण सम्पन्न भएको छ।
मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नरेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा गोकुल अधिकारी र बाबुराम पोखरेल अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा स्वागत मन्तव्य रामबाबु दाहालले व्यक्त गरेका थिए। राष्ट्र सेवक सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा बाल कथा सङ्ग्रह ‘अन्धविश्वास’ माथि हरि कट्टेलले समिक्षा प्रस्तुत गर्दै कथासङ्ग्रहले बालबालिकालाई व्यवहारिक ज्ञान र चेतना प्रदान गर्ने बताए।
कृतिमाथि धारणा राख्दै बाबुराम पोखरेलले लेखक भवानीप्रसाद पोखरेललाई एघारौँ कृति प्रकाशन गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको सृजना संवादको ७३औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा उपस्थित कविहरू नवराज पोखरेल ‘नवसिला’, सुजाता राई, केशु विरही, जमुना पौडेल, शारदा कार्की, चिरञ्जीवी काफ्ले, प्रयाग न्यौपाने, पुष्पा सायरा, डोमी कामत, लिलानाथ सिल्वाल, नानुमैया दाहाललगायतले आ–आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन गोपाल निर्भिकले गरेका थिए।




















