विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्।
विराटनगरस्थित शहीद रङ्गशालामा शुक्रबार सम्पन्न दुवै सेमिफाइनल खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। पहिलो सेमिफाइनल खेलमा डनबस्को (निलगिरी) माध्यमिक विद्यालयले सेन्ट जोसेफ माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका डनबस्को (निलगिरी) का उदेश केसी खेलका उत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा आदर्श माध्यमिक विद्यालय र जनता नमुना माध्यमिक विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयसम्म दुवै टोलीबाट एक–एक गोल भएपछि खेल बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको निर्णायक पेनाल्टी सुटआउटमा आदर्श माध्यमिक विद्यालयले ४–२ गोल अन्तरको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो। उक्त खेलमा आदर्श माध्यमिक विद्यालयका योगेश राजवंशी उत्कृष्ट प्रदर्शनका कारण खेलका उत्कृष्ट खेलाडी घोषित भए।
आयोजकका अनुसार मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल माघ ११ गते दिउँसो १ बजे शहीद रङ्गशाला, विराटनगरमा हुदै छ।




















