विराटनगर।नेपाली बजारमा सुनको मूल्य बढेर शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ हजार २ सय रुपैयाँले बढ्यो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा सुनको मूल्य पहिलोपटक ३ लाख रुपैयाँ नाघेको हो। आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि आज तोलामा ३२० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो। आज १० ग्राम चाँदीको मूल्य ५ हजार ३ सय ७ रुपैयाँ कायम रहेको बताए।