विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडा अध्यक्ष हिरालाल कामतले फेरि पनि अध्यक्षमा निर्वाचित भएमा वडाभित्र वृद्धआश्रम निर्माण गर्ने घोषणा गरेका छन्।
वडामा पछिल्लो समय उल्लेख्य काम भएको दाबी गर्दै अध्यक्ष कामतले विराटनगरकै सबैभन्दा ठूलो वडा भएकाले जति काम गरे पनि अझै अपुग महसुस हुने बताएका छन्। “यो वडा क्षेत्रफल र जनसंख्याका हिसाबले ठूलो भएकाले समस्या र आवश्यकतासमेत धेरै छन्,” उनले भने।
उनका अनुसार प्रत्येक वर्ष वडामा पाँच करोडदेखि सात करोड रुपैयाँसम्म बजेट आउने गरेको छ र सोही बजेटको दायराभित्र रहेर उल्लेखनीय विकास तथा सेवा–सुविधाका काम गरिएको छ।
अध्यक्ष कामतले आफू बिहानदेखि दिउँसो ४ बजेसम्म निरन्तर रूपमा जनताको सेवामा खटिने गरेको बताउँदै कामको चापका कारण कहिलेकाहीँ खाजा त परै जाओस्, चिया पिउनसमेत भ्याउन नसकिने अवस्था हुने गरेको उल्लेख गरे।
आगामी दिनमा पनि जनताको विश्वास र साथ प्राप्त भए वृद्धवृद्धाको संरक्षण तथा सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै वृद्धआश्रम निर्माण गरिने उनको प्रतिबद्धता छ। यसले वडाभित्रका असहाय, एक्ला तथा सहाराविहीन वृद्धवृद्धालाई सुरक्षित आश्रय र सेवा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।




















