विराटनगर ।काठमाडौं ,निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगको तय कार्यतालिकाअनुसार बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म नामावली प्रकाशन गरिने भएको छ ।
मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी संकलन गरिएको थियो । प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ सम्पन्न भइसकेकाले आयोगले नामावली सार्वजनिक गर्न तयारी पूरा गरेको बताएका छन् ।
आयोगका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।
हालसम्मको विवरणअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन् ।
जेनजी आन्दोलनपछि संसद विघटन भई कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तोकेको छ ।
निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुनेछन् । तीमध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला तथा अन्य २ सय मतदाता रहेका छन् ।




















