विराटनगर।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशभर चुनावी माहोल तातेको छ। प्रदेशका १४ जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता हुँदा यसपटकको निर्वाचन बहुआयामिक र कडा प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी पेश गरेका छन् । प्रारम्भिक विवरण अनुसार उम्मेदवार संख्या अझै घटबढ हुन सक्ने र अन्तिम नामावली प्रकाशनपछि मात्रै यकिन तथ्यांक सार्वजनिक हुने कार्यालयले बताएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यससँगै सुनसरी प्रदेशकै सबैभन्दा प्रतिस्पर्धी जिल्ला बनेको छ । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा गरी १०९ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ मा २६, क्षेत्र नं २ मा २८, क्षेत्र नं ३ मा २२ र क्षेत्र नं ४ मा ३४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । औद्योगिक, सहरी र ग्रामीण क्षेत्रको मिश्रण रहेको सुनसरीमा दलगत प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले चुनावलाई रोचक बनाउने अपेक्षा गरिएको छ ।
प्रदेश राजधानी विराटनगर समेटिएको मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमा कुल ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ १ मा १८, मोरङ २ मा १७, मोरङ ३ मा २१, मोरङ ४ मा २०, मोरङ ५ मा २२ र मोरङ ६ मा २० जना उम्मेदवार रहेका छन् । सधैं राजनीतिक गतिविधिको केन्द्रमा रहने मोरङ यसपटक पनि उम्मेदवारी संख्याका आधारमा कोशी प्रदेशको केन्द्रबिन्दु बनेको छ ।
५ वटा निर्वाचन क्षेत्र रहेको झापामा कुल ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर ५ मा तुलनात्मक रूपमा धेरै उम्मेदवार देखिएका छन् । उक्त क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन शाह लगायतको उम्मेदवारी परेकाले प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।
२–२ वटा निर्वाचन क्षेत्र रहेका इलाम र उदयपुरमा पनि उल्लेखनीय उम्मेदवारी परेको छ । इलाममा २७ जना (क्षेत्र १ मा १३ र क्षेत्र २ मा १४) तथा उदयपुरमा ३१ जना (क्षेत्र १ मा १८ र क्षेत्र २ मा १३) उम्मेदवार मैदानमा छन् । यी जिल्लामा स्थानीय मुद्दा, विकास र पहिचानसम्बन्धी विषय चुनावी बहसको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।
१ वा २ वटा निर्वाचन क्षेत्र मात्रै रहेका पहाडी तथा हिमाली जिल्लाहरूमा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुम र भोजपुरमा समान १२–१२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुङ्गामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भौगोलिक रूपमा विकट मानिने यी जिल्लामा पनि उम्मेदवारको संख्याले राजनीतिक चासो र सहभागिता उच्च रहेको संकेत गरेको छ ।




















