विराटनगर । नेकपा एमालेले मोरङको क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई टिकट दिएको छ । मोरङका ६ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर ५ र ६ मा एमालेले उम्मेदवार टुंगो लगाउने बाँकी रहेको थियो । 

दुवै क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट टुंगो लगाउने जनाइएको थियो । स्रोतका अनुसार क्षेत्र नम्बर ६ मा उठ्नका लागि केन्द्रीय समितिका नेताहरूबाट ढकाललाई आग्रह गरिएको बताइएको छ ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा इश्वर पोखरेल समुहबाट केन्द्रीय सचिवमा उठेर पराजित भएका ढकाललाई मोरङको क्षेत्र नम्बर १, ४ र ६ बाट उम्मेदवार सिफारिस भएका थिए ।

यसअघि क्षेत्र नम्बर ४ बाट उठेका ढकालले पार्टी नेताहरूको रायका आधारमा निर्वाचन क्षेत्र फेरेका हुन् । 

एमालेले मोरङको क्षेत्र नम्बर ५ मा भने मनोज अग्रवाललाई टिकट दिने तयारी गरेको जानकारी दिए । एमालेले यसअघि स्वतन्त्रबाट उठेर निर्वाचित भएका योगेन्द्र मण्डललाई समेत उक्त क्षेत्रबाट चुनाव लड्नका लागि छलफल गरेको स्रोतले बताए।