विराटनगर ।काठमाडौं ,निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन र पार्टी विधानअनुसार वैध ठहर गर्दै त्यसबाट निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनले गरेका सबै निर्णयलाई मान्यता दिने निर्णयसँगै पार्टीको औपचारिक नेतृत्वसम्बन्धी विवाद टुंगो लगाएको हो ।
आयोगको निर्णयसँगै विशेष महाधिवेशन मान्य नहुने भनी शेरबहादुर देउवा पक्षले गर्दै आएको दाबी स्वतः अस्वीकृत भएको छ । अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य संगठनात्मक कामकारबाहीसम्म गगन थापा–विश्वप्रकाश शर्मा समूहका निर्णय र गतिविधि आधिकारिक रूपमा मान्य हुनेछन् । यससँगै देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको आयोग स्रोतको भनाइ रहेको छ ।निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ । आयोग स्रोतका अनुसार पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने प्रस्तावमा आयोगका पदाधिकारीबीच मत विभाजन भए पनि बहुमतले अद्यावधिकको पक्षमा निर्णय गरेको हो ।
स्रोतका अनुसार आयोग सदस्य सगुन शमशेर जबराले फरक धारणा राखे पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधर अद्यावधिकको पक्षमा उभिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विशेष महाधिवेशनले सभापतिमा थापालाई चयन गरेपछि आयोगमा अद्यावधिकका लागि निवेदन दिइएको थियो ।




















