विराटनगर। ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी राईमाथि गत कात्तिक १० गते उनकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको आरोपमा भदैनी नाता पर्ने ३९ वर्षीया विष्णु राईलाई पक्राउ गरेको छ।पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । धर्मलिला देवी राईमाथि गत कात्तिक १० गते उनकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको थियो।फरार विष्णु राईलाई लामो प्रयासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनापछि फरार रहेकी राईलाई प्रहरीको विशेष टोलीले करिब तीन महिनाको खोजतलासपछि पुस २७ गते सिद्धिचरण नगरपालिका–११ मिलनचोकस्थित उहाँकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।पक्राउ परेकी राईविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार सोमबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउने घटनामा गम्भीर रूपमा घाइते भएकी वृद्धा धर्मलिला देवी राईको तीन महिनादेखि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घटनामा पीडितको अनुहार, घाँटी, छाती तथा कम्मरदेखि खुट्टासम्म शरीर सबै जलेको अबस्थामा छ ।
पीडित वृद्धा सँग विष्णु राईले पहिला पाँच लाख र त्यसपछि ९० हजार रुपियाँ सापटी माग्दा नदिएको भन्दै आक्रोशमा पेट्रोल खन्याई आगो लगाएको बयान दिएको प्रहरीले जनाएको छ




















